चित्र र कविता:
कामना

सन्ध्या रेग्मी


सन्ध्या रेग्मी
"सूर्यास्तको स्वर्णिम आभा सगरमाथामा"
नेपाली छातीभरि हिमश्रृङ्खला नाचिरहून्
नेपाली ओठभरि लालीगुराँस हाँसिरहून्
नेपाली आँखाहरूले इन्द्रेणी सपना साँचिरहून्
नेपाली हातहरूले पसीनाका माला गाँसिरहून् ।
नेपाली कण्ठहरूले ‘चरैवेति’ गाइरहून्
नेपाली ललाटहरूले आशीर्वाद पाइरहून्
नेपाली मुहारभरि दिव्य कान्ति छाइरहून्
नेपाली हत्केलाभरि कर्मकै सुवास आइरहून् ।
नेपाली पाउहरूलाई सफलताले चुमिरहून्
नेपाली पाइलाहरूलाई शुभग्रहले घुमिरहून्
नेपाली मझेरीभरि घाम–जून डुलिरहून्
नेपाली आँगनभरि पारिजात फुलिरहून् ।
नेपाली पाखुरीभरि अमरसिंह बसिरहून्
नेपाली रगतभरि बलभद्र बगिरहून्
नेपाली परेलीभरि भृकुटी सजिरहून्
नेपाली ह्दयभरि पासाङ् ल्हामू बलिरहून् ।
हिमालले नेपालको शान बढाइरहून्
देशका लागि नेपालीले प्राण चढाइरहून्
धरतीभरि समर्पणका नदी बगाइरहून्
आकाशभरि सुकीर्तिका तारा चम्काइरहून् ।
घाउहरू म्वाइँ बनून् आँसु सब प्रीत
चट्टान पनि फूल बनून् हार सब जीत
जगत्भरि टल्किरहून् पसिनाकै शीत
क्षितिजभरि गुञ्जिरहून् सिर्जनाकै गीत ।