चित्र र कविता:
देशकै माया लाग्छ

सन्ध्या रेग्मी


सन्ध्या रेग्मी
नुप्त्सेमा जुनेली रात
आकाशका जूनतारा सारा आङ्खनै जस्तो लाग्छजाँ गए ‘नि जे गरे ‘नि देशकै माया लाग्छ ।
बिहानीपख सूर्यसँगै नेपाल उदाउँछ
सन्ध्याकालमा चन्द्र बनी नेपाल मुस्कुराउँछ
विदेशको पानी पनि हिमालको झैँ लाग्छ
गोधूलिको साँझ पनि नेपालको झैँ लाग्छ ।
मेरो मनको गगनमा नेपालकै माया
परदेशको यो सदनमा नेपालकै छाया
रातमा पनि नेपाल सम्झी टोलाए झैँ लाग्छ
बाडुली लाग्दा नेपालले बोलाए झैँ लाग्छ ।
स्वदेशानुरागी ह्दय बोकी विश्वभ्रमण गर्छु
गाइने बनी सारंगीमा नेपाल गाउँदै हिँड्छु
परदेशका उकालो ‘नि अन्नपूर्णा लाग्छ
बतासभरि चमेलीकै सुवास झैँ लाग्छ ।
मेरो मनको भञ्ज्याङ्भरि सुनाखरी फुल्छ
नयनको फेवातालमा माछापुछ्रे खुल्छ
गिर्जाभित्र मन्दिर–घण्ट बजेको झैँ लाग्छ
भित्ताभरि स्वयम्भू–नयन बोलेको झैँ लाग्छ ।
आँखाभरि सपनाभरि नेपाल नेपाल देख्छु
छातीभरि मुटुभरि नेपाल नेपाल लेख्छु
आँखाबाट आँसु हैन नेपाल बगेको छ
छातीभित्र मुटु हैन नेपाल धड्केको छ ।
प्रतिपल मेरो मुटुमा हजार ढुकढुकी नेपालकै चल्छ
मस्तिष्कभरि नेपालकै चिन्तन ओहोरदोहोर हुन्छ
मिर्मिरेमा भाले बासेपछि निद्रा खुलेको झैँ लाग्छ
देउरालीकी डाँफे चरी भुरुर्र उडेको झैँ लाग्छ ।
जूनकीरी छोपेर हातमा समाउँ–समाउँ जस्तो
जूनतारा टिपेर मनमा सजाउँ–सजाउँ जस्तो
चौतारीमा बसी वरपीपलको शीतल तापेको झैँ लाग्छ
लेकाली वनभरि लटरम्म काफल पाकेको झैँ लाग्छ ।
आकाशजस्तो विशाल छाती धरतीजस्तो मन
हुन्न माटोभन्दा ठूलो अर्को कुनै धन
माटो नै हो सुनचाँदी माटो हीरामोती
यसमै फल्छ इमान बल्छ प्रतिष्ठाको ज्योति ।
माटोसँगै अमर प्रेम बसिसकेको छ
माटोकै अमृत शरीरभरि बगिसकेको छ
पीरैपीरमा मुटुभरि माटोकै मलहम लाग्छ
भीरैभीरमा छातीभरि छहराकै ध्वनि जाग्छ ।
मुटुमाथि हिमचुलीको अजम्म्बरी बूटी परेजस्तो
छातीमाथि वीरताको कीर्ति–स्तम्भ गडेजस्तो
एउटा नटुटिने सपना देखिरहे झैँ लाग्छ
एउटा नमर्ने इतिहास लेखिरहे झैँ लाग्छ ।
आकाशका जूनतारा सारा आङ्खनै जस्तो लाग्छ
जाँ गए ‘नि जे गरे ‘नि देशकै माया लाग्छ ।