कविता:
श्रीओम रोदन
निरुत्तर
मेले सोधें
तिमीलाई कहां दुख्छ ?
उसले मुन्टो बटार्यो
केही बोल्न चाहेन
त्यसपछि हामी
सबै जना मिलेर सोध्यौं
दुखेको तिमीलाई नै हो ?
केही क्षणको मौनतापछि
उसले प्रतिप्रश्न गर्यो
के तिमीहरुलाई दुख्दैन ?
हिजो रोपिएका विश्वासहरु
अलिकति पनि फल्न सकेका छैनन्
हिंडेको यति लामो समय भइसक्यो
अगाडि पटक्कै बढ्न सकेका छैनौ
हिजो देखेजस्तै सपनाहरु
आज पनि दोहरिरहेका छन् ?
मेरो मात्र के कुरा गर्छौ
देश पानी बनेर बगिरहेको छ
देश माटो बनेर घटिरहेको छ
घुम्ने मेचमा बसेका
अक्षर बिक्नेहरु
टोस्ट प्रस्तावसगैं
पानी बगाएको सूचना
माटो लिलामको सूचना निकाल्न
बुंदाहरु सच्याइरहेका छन्
तिमीहरुलाई थाहा छैन ?
मृत्यु दिवसमा दुख मनाउनेहरुलाई
दुखको परिभाषा सोध्नु पर्छ र ?