फोटो कविता:
तीर्थ श्रेष्ठ
पुल
बालापन
र यौवनबीचको
पुल कस्तो हुन्छ ?
उमेरको हाँगो हल्लाई हल्लाई मच्चिरहेकाले
झरेका फूलहरू जस्तो हुन्छ
कि आकाशका ताराहरू टिपेर
समयको उदास छातीमा
टाँगिदिएपछिको समय जस्तो हुन्छ ?
बालापन र यौवनबीचको पुल कस्तो हुन्छ ?
आकाशमा जून उदाएपछि
देखिने ताराहरूको मुस्कान जस्तो हुन्छ
कि मङ्सिरमा भेटिने भकारीको उन्माद जस्तो हुन्छ ?
म सत्य भन्छु
सत्यको उज्यालोमा मलाई हेर्ने मन छ
बालापन र यौवनबीचको पुल कस्तो हुन्छ ?