चित्र र कविता:
आऊ हामी सम्भोग गरौं

चित्र: पाब्लो पिकासो


मौन आवाज
ए मूर्ख आइमाई !
ट्वाल्ल परेर नबस
संसार आफ्नै सुरमा कुदिरहेको छ ।
- उसको आफ्नै वेग छ
-उसको आफ्नै वेद छ ।
यसो गरौं
आऊ ओछ्यान मिलाउँ !
हावामा हावासँग हावा हुँदै
आगोमा आगोसँग आगो हुँदै
ग्रामीण बस्तीको चौतारी
देवालय - शौचालय भत्काउँदै जोसुकै हिँडोस् ।
जोसुकै हिँडोस् -
बहुरंगी नाराका उत्तेजनाहरु फलाक्दै
आऊ -
हामी यो एकान्तमा निर्विचार - निर्वस्त्र उभिउँ !
ए निरक्षर आइमाई !
- कूटनीतिको कुनै स्पष्ट भाषा हुँदैन ।
- राजनीतिको कुनै प्रष्ट व्याकरण हुँदैन ।
आऊ -
तन्ना ओछ्याउँ !
हिंस्रक विचारको अघिपछि पछिअघि गरिरहन
हामीसँग फुर्सद नै कहाँ छ र ?
हामी त -
यो युगको अन्तिम जोडी हौं ।
हामीसँग -
गर्भाशयमैं मरेका शिशुहरु छन्
वृद्ध पृथ्वी
रोगी सभ्यता
र / प्रशस्त अपूरणीय क्षतिहरु छन् ।
हामीसँग -
कुहिएका फूल
डढेका सपना
र / प्रशस्त अवर्णनीय पीडाहरू छन् ।
हामीसँग-
फुटेका आँखा
भाँचिएका खुट्टा
छिनालिएका टाउका
र / टुक्राटुक्रा शरिरहरु छन् ।
- हामीसँग एउटा अर्थहीन उपस्थिति छ
- हामीसँग एउटा अर्थपूर्ण अनुपस्थिति छ !
हामीलाई -
आकाशका अवशेषहरु बटुल्दै
निर्माण गर्नु छैन अर्को आकाश
तारापुञ्जहरुमा नियोजित प्रकाश छरेर
थप्नु छैन अर्को तारा ।
बितेर गएको इतिहासको छातीमा लेख्नु छैन -
स्थगित समयको आदिम कथा !
हामी त -
नदीका अविरल सन्तानहरू हौं ।
किनारामा जीवन पर्खेर किनारामैं खरानी हुनु -
हामीलाई किमार्थ स्वीकार्य छैन ।
मत्स्य - जुनीको काल्पनिक पोखरीमा
लास जस्तो तैरिएर कति छचल्किनु ?
- हामीलाई पुग्नुछ सत्यको - शान्त चिहान !
ए दिग्भ्रमित स्त्री !
आऊ -
यो आदिम जंगलमा कामदेवको प्रार्थना गरौं
आऊ -
तिम्रो सनातन योनीको अनुष्ठान गरौं
आऊ -
मेरो प्राचीन लिंगको आराधना गरौं ।
ए लाटी !
यो भीडले कुल्चेर गएको बहुल पाइतालाहरुमा
कति बाटाहरु पुरिएका छन् ?
- कति यात्राहरु पुरिएका छन् ?
- कति यात्रीहरु पुरिएका छन् ?
अंकहरुको अन्तिम गन्तव्य शून्यता हो
आऊ -
मौनताको अनन्त गहिराइमा समाधिस्थ हौं !
आऊ -
हामी नसुने जस्तो गरौं
आऊ -
हामी नदेखे जस्तो गरौं
आऊ -
हामी नबोले जस्तो गरौं
आऊ -
हामी नभए जस्तो गरौं ।
यो ब्रम्हाण्डमा अस्तित्वका असंख्य विरोधाभासहरु छन्
- असंख्य ईश्वरहरु छन्
- असंख्य धर्म र / व्याख्याहरु छन्
- असंख्य वाद र / सिद्धान्तहरु छन्
- असंख्य भ्रम र / रहस्यहरु छन् ।
आऊ -
दिन बिर्सेर आऊ
आऊ -
रात बिर्सेर आऊ
आऊ -
सम्पूर्ण आगत / विगत र / जगत बिर्सेर आऊ ।
ए पतित नारी !
आऊ -
यो पतित पुरुषको अंगालोमा आऊ
- जिब्रो चाटौं
- कान टोकौं
- शरीरमाथि शरीर घिसारौं ।
हामी ठीक त्यसरी नै स्खलित होउँ
जसरी -
ईश्वर आफ्नो धर्मबाट स्खलित हुन्छ
जसरी -
प्रकृति आफ्नो नियमबाट स्खलित हुन्छ
जसरी -
सरकारहरु आफ्नो दायित्वबाट स्खलित हुन्छन् !
ए पवित्र नारी !
- आऊ हामी सम्भोग गरौं !