चित्र र कविता:
अर्को नेपाल छैन
सन्ध्या रेग्मी
सन्ध्या रेग्मी
भौतिक संसारबाट दूर दूर
सगरमाथाभन्दा विशाल अर्को हिमाल छैनढुंगामा ‘नि गुराँस फुल्ने अर्को नेपाल छैन
नेपाल जस्तो सुन्दर देश विश्वभरि छैन
नेपाली झैँ प्यारो जाति अन्त कतै छैन ।
सिंगापुरका बाटाभरि वरपीपलकै छायाँ
पुगे पनि मलेशिया देउरालीकै माया
म पुगे ‘नि न्यूजिल्याण्ड दूधकोशी नै बग्छ
अष्ट्रेलियाका तटभरि बाबरी नै झर्छ ।
‘डिस्को’ भित्र पसे पनि रोदीघरकै हुँ म
‘रक’ ‘पप’ सुने पनि सारंगीमै छु म
विदेशीका आँगनमा द्यौसीभैलो खेल्छु
अङ्ग्रेजीलाई ‘नि नेपालको भाषाले म पेल्छु ।
मरुभूमिमा बसे पनि देशकै हरियाली
अरबका खाडीभरि मायाकै छहारी
बारीभरि टारीभरि ऐंसेलुका घारी
जाँ गए ‘नि जूनसँगै खेल्छु लुकामारी ।
कञ्चनजङ्घा शिरमाथि नेपाल उठाइराख
गोधूलिको सुसेलीमा नेपाल सुसाइराख
पहाडको झर्ना बोल्छ ह्दयको गीत
जाँ गए ‘नि मुटुभित्र नेपालकै प्रीत ।
डलरसँग छैन मोह पैसा फगत कागत
स्वदेशमै रोप्न पाऊँ मेरा सबै तागत
परदेशका शिशिरभरि देशकै माया ताप्छु
अन्नपूर्णा ललाटमा भाग्य साक्षी राख्छु ।
आधी जीवन बितिसक्यो विदेश बसी–बसी
मुटुभित्र बस्छ नेपाल गाँठो कसी–कसी
छातीभरि उर्लिर’न्छन् सारंगीका छाल
डर लाग्छ आउने हो कि विदेशैमा काल ।
अरू सबै बाठा भए म त हजूर लाटो
सधैँ मेरो मुठ्ठीभरि नेपालकै माटो
मर्दा ‘नि नयनभरि नेपाल सजाई मर्छु
हिमशिखर यो छातीमा नेपाल बगाई मर्छु ।
धुनु परे मेरो शव नेपालमै धुनू
दिनु परे दागबत्ती नेपालमै दिनू
अनुहारमा नेपालकै कान्ति जगाई मर्छु
रोकिएको मुटुभित्र नेपाल धड्काई मर्छु ।
‘सन्ध्या’ नामकी नेपालकी छोरी मरी भन्नू
मलाई चिहान नेपालकै माटोभित्र खन्नू
नेपालकै मायालु म विकासको भोको
अर्को जन्म पाए पनि नेपाली बन्ने धोको ।
सगरमाथाभन्दा विशाल अर्को हिमाल छैन
ढुंगामा ‘नि गुराँस फुल्ने अर्को नेपाल छैन
नेपाल जस्तो सुन्दर देश विश्वभरि छैन
नेपाली झैँ प्यारो जाति अन्त कतै छैन ।